[Show all top banners]

Swiss
Replies to this thread:

More by Swiss
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 यसरी मारे माओवादीले मुक्तिलाई
[VIEWED 11924 TIMES]
SAVE! for ease of future access.
Posted on 11-27-10 12:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसरी मारे माओवादीले मुक्तीलाई
SATURDAY, 27 NOVEMBER 2010 09:39 नागरिक
गुणराज लुइँटेल, दुराडाँडा (लमजुङ), मंसिर ११ -

त्यो कारुणिक तस्बिर!


धुम्म परेको दिन थियो त्यो। बिहान सिमसिम पानी परेकाले थोरै हिलो पनि। देवी सदन प्राथमिक विद्यालय, तुर्लुङका शिक्षक बुद्धराम दर्जीले पढाउँदै गरेको कक्षाको झ्यालबाट बाहिर हेरे। कालो रुमाल बाँधेर मुख ढाकेका पाँचछ जना स्कुलकै बाटो हिँडिरहेका थिए।

'ओहो, आज यिनको किन चलखेल छ?' मनमनै सोचे उनले। तर, बाहिर निस्केर सोध्ने हिम्मत भएन।
ती अनुहार छोपिएका त्रासद आँखा सोझिएको बाटोतिर उनले हेरिरहे केहीबेर। उनको मनको शंका त्यतिबेला सत्य भयो, जब छुट्टीपछि अर्को स्कुलबाट केटाकेटी पानीट्यांकीको बाटो हुँदै बुद्धरामको स्कुलतिर आए।
'पाणिनीको हेडसरलाई आज मारेछन्,' ती स्कुले नानीहरूले भयभीत आवाजमा सुनाए।
'कठै नवकुमार (अधिकारी) सर!' उनले स्कुलका प्रधानाध्यापकलाई सम्झे।
स्कुले नानीहरूले उनलाई यो घटना सुनाउँदा दिउसोको साढे दुई बजेको थियो। आफूजस्तै अर्को शिक्षक मारिएको खबरले उनका हातखुट्टा गले। 'अब के पढाउने र?' भन्दै स्कुल बिदा गरेर सबै शिक्षक घटनास्थलतिर दौडे।
'हे भगवान, यो के देख्नु परेको!'
पानीट्यांकीनजिकै उत्तिसको रूखमा पछाडि हात बाँधिएका। मफलरले बेरेर घाँटी रूखमा बाँधिएको। यस्तो हविगत देख्नेको मात्र होइन, सुन्नेको समेत मन उद्वेलित भयो।
यातनापूर्ण मरणपछि भुइँमा घुँडा टेकेर आँखा चिम्लिरहेको सौम्य अनुहार पाणिनी संस्कृत माध्यमिक विद्यालयका नयाँ प्रधानाध्यापक मुक्तिनाथ अधिकारीको रहेछ।
घटनास्थल आइपुगुञ्जेल बुद्धरामलाई मुक्तिनाथ यो घटनामा परे होलान् भन्ने लागेकै थिएन। किनकि, अघिल्लो दिनसम्म नवकुमार नै त्यस स्कुलका प्रधानाध्यापक थिए।
०००
यो विधिको विडम्बना होइन। यसको कारक हो, अहिले पालुङटारको विस्तारित बैठकमा सक्रिय एकीकृत माओवादी। उसले गाउँगाउँमा शोसक-सामन्त उन्मुलनको नाममा समाजलाई जोड्ने व्यक्तिहरूको हत्या गर्‍यो।
पालुङटारनजिकै लमजुङको दुराडाँडामा नौ वर्षअघि भएको यो घटना स्थानीयबासीको दिमागमा ताजै छ। दुराडाँडाको नेटो काटेर देशविदेश पुगेको यो घटनाका दोषीलाई अहिलेसम्म कारबाही भएको छैन।
२०५८ माघ ३ को यो घटना एक दसक पुग्नै लागेको छ। तर, यी वर्षहरूले घाउ अझै पुर्न सकेको छैन। गाउँलेका आँसु ओभाएका छैनन्। भयको अँध्यारो पर्दाले गाउँलाई छोपेकै छ। 
'मुक्तिनाथजस्ता कसैको अहित नगर्ने, मेहनती र आदर्श व्यक्तिको त हत्या हुन्छ भने अरूको के गति होला!' धेरैका मनमा यही प्रश्नले बास गरेको छ।
०००
मुक्तिनाथ माघ ३ गते बिहान आफ्नो घर नजिकैको बूढामावलीतिरका दाइ पर्ने बालकृष्ण न्यौपाने, ६६, का घर आए। भारतीय सेनाबाट अवकासप्राप्त न्यौपानेले उनलाई चिया ख्वाए। 
त्यो दिन मुक्तिले भनेछन्, 'मैले हेडमास्टर हुनुपर्ने भयो, गर्दिनँ भन्दा पनि सुख पाइएन।'
पाणिनी संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक नवकुमार गाउँमा बस्न नसकेर हिँडेपछि उनलाई त्यो जिम्मेवारी लिन एक दिनअघि जिल्ला शिक्षा कार्यालयले बोलाएको थियो। उनी २ गते नियुक्ति लिन गए। र, त्यही दिन गाउँ फर्के।
सदरमुकाम बेसीसहरका अरू शिक्षक साथीले एक रात त्यहीँ बसेर फर्कन आग्रह गरे पनि उनले मानेनन्। स्कुलको अवस्था लथालिंग भइसकेकाले त्यसलाई सुधार्नुपर्छ भन्ने खाका कोर्दै उनी फर्किहाले।
'यही पिँढीमा बिहान चिया खाएर बिदावारी भएर गएकै दिन त्यो घटना भयो,' सम्झँदा बालकृष्णका आँखा आँसुले डम्म भरिए, 'घर गएर खाना खाई स्कुल गएको, उसलाई यस्तो घटना भयो भनेपछि मेरा खुट्टा लगलग कामे।'
उनी खबर सुन्नेबित्तिकै आतंकित हुँदै मुक्तिनाथको घरतिर कुदे। तर, घर पुगेपछि तगारो नाघ्न सकेनन्। फरक्क फर्के। 'म घटना भएको ठाउँसम्म पनि जान सकिनँ, लास लिएर आएपछि फूल चढाएर फर्कें,' उनले भने।
मुक्तिहत्याको खबरले कामेका बालकृष्ण कुनैबेला माओवादीसँग लडेका थिए। चन्द्रपाटास्थित नेपाल बैंक लिमिटेडमा गार्ड बसेका बेला बन्दुक खोस्न आउने माओवादीसँग उनको तानातानै परेको थियो। उनको हात र शरीरलाई खुकुरीले छियाछिया पारेपछि मात्र माओवादीले बन्दुक खोस्न सकेका थिए।
तर, बालकृष्णको त्यो बहादुरी मुक्तिहत्याको खबरले भयमा अनुदित भयो।
'मेरो जिउमा ५४ टाँका लागेको थियो,' उनले भने, 'मलाई मर्छु भन्ने डर कहिल्यै लागेन, तर मुक्तिहत्याले साह्रै दुःखी बनायो।'
०००
लमजुङको चन्द्रेश्वर गाविस, छहरेपानीका ठाकुरप्रसाद तिवारी, ५३, आफ्नो बालसखा मुक्तिनाथलाई पढाइमा तेज व्यक्तिका रूपमा सम्झन्छन्, 'उनी सानैदेखि अरूप्रति नचाहिँदो व्यवहार नगर्ने र आफू पनि त्यस्तो व्यवहार नसहने व्यक्ति थिए।'
'बाटामा खेलिरहेका केटाकेटी देखे मुक्ति समयतालिका बनाएर खेल्न र पढ्न सल्लाह दिन्थे। बूढापाकाले तास खेलेर बसिरहेको देखे समय सदुपयोग गर्नू भन्थे,' ठाकुरले भने, 'उनको सल्लाह हुन्थ्यो- समय सदुपयोग गरौं, राम्रा काम गरौं।'
सानैमा बाबुआमा बितेपछि दीनहीन भएका मुक्तिनाथ अलि ठूलो भएपछि मात्र स्कुल गएका थिए। स्कुल गएपछि एकाएक यस्तरी चम्किए, उनले प्राथमिक कक्षामा धेरै दिन बस्नै परेन। प्रथम श्रेणीमा एसएलसी पार गरे। त्यसपछि बाँकी पढाइ पनि राम्ररी अघि बढाए। एसएलसीपछि गाउँकै स्कुलमा शिक्षक भए। कोलम्बो प्लानअन्तर्गत डाक्टरी पढ्न छात्रवृत्तिसमेत पाएका थिए। तर, अर्कै व्यक्तिलाई अवसर दिन आग्रह भएपछि उनले त्यो छाडेको गाउँलेहरू किंवदन्तीसरह सुनाउँछन्।
गाउँलेहरू उनलाई कुनै स्वार्थ नभएको, अरूलाई सहयोग गर्न सधैं तत्पर व्यक्तिका रूपमा सम्झन्छन्। गाउँको एकताका निम्ति उनी निरन्तर क्रियाशील थिए। 
मारिएको समय उनी पाणिनी संस्कृत विद्यालयका प्रधानाध्यापक भए पनि गणित र विज्ञान पढाउन जिल्लामै कहलिएका थिए। टाढा गाउँदेखि ट्युसन पढ्न विद्यार्थीहरू डेरै गरेर उनको गाउँमा बस्थे।
गाउँमा वाचनालय खोल्नेदेखि कोही बिरामी पर्दा सबै गाउँलेले मिलेर खेती लाइदिने चलन उनैले सुरु गराएका थिए। 'कोही बिमारी पर्दा पुरै गाम्ले भएर सहयोग गर्ने चलन थियो,' छहरेपानीकी सरस्वती अधिकारी, ६३, भन्छिन्, 'अहिले कसैको लास परे पनि सहयोग गर्ने मान्छे छैन।'
मुक्तिनाथका यिनै गुणले हो, पाणिनी स्कुलदेखि पानीट्यांकीसम्मको झन्डै आधा घन्टा पैदल दुरीमा बस्ने हरेक गाउँलेका आँखामा उनलाई पछाडि हात बाँधेर र कञ्चटमा बन्दुक ताकेर लगेको स्मृति आलै छ।
माओवादीले उनलाई लिएर गएको त्यही बाटोमा भेटिएका सर्वोदय उच्च माध्यमिक विद्यालयका शिक्षक जीवनाथ अधिकारीले भने, 'उहाँजस्तो गुरु पाउन सकिँदैन।'
मुक्तिनाथले प्रधानाध्यापकको नियुक्ति लिन बेसीसहर गएको दिन उनी पनि सँगै थिए। उनले मुक्तिनाथलाई नियुक्ति नलिन आग्रह गरेका थिए। आफूले जिम्मेवारी लिनुपर्ने बाध्यता रहेको उनले त्यही बेला सुनाएका थिए।
'त्यो नै हाम्रो अन्तिम भेट भइदियो,' उनी सम्झन्छन्।
उनको हत्यास्थल नजिकैको खजेगाउँका नरजंग दुरा, ५३, भन्छन्, 'उहाँ साह्रै सहयोगी भावनाको मान्छे। हामीलाई सधैं राम्रो सल्लाह दिनुहुन्थ्यो।'
गाउँलेहरू मुक्तिको हत्यालाई केवल हत्या ठान्दैनन्, समाजलाई जोड्ने एउटा व्यक्तिको 'सफाया'पछि आफ्नो राजनीति विस्तार गर्न सकिन्छ भन्ने उद्देश्यले प्रेरित भएर गराइएको जघन्य अपराध मान्छन्। र, उज्यालोविरुद्धको नियोजित घटना।
किनकि, उनी संस्कृत स्कुलका हेडमास्टर भएकाले भन्दा पनि समाजसुधारक भएकाले मारिएका थिए। गाउँगाउँमा यस्ता व्यक्तिको हत्या गरेपछि माओवादीलाई आफ्नो आतंकपूर्ण छवि विस्तार गर्न मद्दत पुग्थ्यो। हुन पनि यसले एक गठ रहेका गाउँलेलाई एक्लो र भयभीत बनाइदियो।
'यो गाउँको बत्ती निभ्यो बाबु,' सुमित्रा न्यौपाने, ५९, भन्छिन्, 'त्यो घटनापछि हामी गाउँमा बस्न सकेनौं।'
०००
त्यो दिन पाणिनी संस्कृत माध्यमिक विद्यालयमा धमाधम कक्षा चलिरहेको थियो। प्रधानाध्यापकको नियुक्ति लिएर आएकै भोलिपल्ट मुक्तिनाथ १० कक्षालाई पढाउँदै थिए। टिफिनको घन्टी लाग्नै लागेको थियो। दिउसो १ः१० मा केही व्यक्ति हेडसरलाई खोज्दै आए। कसैले उनी पढाउँदै गरेको कक्षा देखाएपछि उनीहरू त्यतै गए। तिनले 'बाहिर आउनू' भनेपनि उनले 'कक्षा सकिएपछि कुरा गरौं' भन्दै अध्यापनलाई निरन्तरता दिए।
तर, उनीहरूले टेरेनन्। कक्षाकोठामा पसे। उनको हात पछाडितिर बाँधिदिए। विद्यार्थीहरू आत्तिएर रुन थाले। सबै शिक्षकलाई कार्यालयबाट चौरमा पठाइयो। विद्यार्थीलाई पनि बाहिर निकालियो। एकैछिनमा कञ्चटमा बन्दुक ताक्दै उनलाई लिएर गए। उनीहरूले 'कसैलाई खबर नगर्न र पछिपछि नआउन' धम्कीसमेत दिए।
'नराम्रो काम गर्दै हिँड्ने प्रवृत्ति नभएकाले उहाँमा हक्की स्वाभाव थियो,' उनलाई कक्षाकोठाबाट लैजाने बेलाको घटना सम्भि्कँदै अहिलेका प्रधानाध्यापक शुभाकर खतिवडा भन्छन्, 'उहाँ समाजलाई पच्ने किसिमको मात्र व्यवहार गर्नुहुन्थ्यो।'
घटनाका साक्षी शिक्षकहरूका अनुसार मुक्तिनाथलाई लग्ने समूहमा १०/१२ जना थिए। तिनले हातमा ग्रिनेड बोकेका थिए।
'त्यो बेला हाम्रो बोली बन्द भयो,' शिक्षकहरू भन्छन्, 'तैपनि हामी छलिँदै-छलिँदै उनीहरूभन्दा केही पछि गइरहेका थियौं।'
माओवादीले सबै शिक्षकबाट आफ्नो तलबको २५ प्रतिशत मागेका थिए। मुक्तिनाथले आफ्ना शिक्षक साथीहरूसँगको बैठकमा यो कुरा राखे। सबैबाट नदिने सहमति भयो। उनले शिक्षकहरूको यो सन्देश माओवादीलाई सुनाएका थिए।
त्यो दिन उनलाई कक्षाकोठाबाट निकालेर लैजाँदा पनि एकदुई दिनमै फर्काइदिने बताइएको थियो। त्यत्रो ठूलो गाउँको बाटो हात पछाडि बाँधेर, कञ्चटमा बन्दुक ताकेर गाउँको सिरानमा रहेको पानीट्यांकीसम्म लैजाँदा पनि कसैले उनीहरूको सामना गर्न सकेनन्।
अनि, केही बेरमै मुक्तिनाथको हत्या गरेर उनीहरू तुर्लुङतिर लागे। एक स्थानीयले दिएको जानकारीअनुसार, सिन्दुरे गाविसको जंगलमा एक महिला र आठ पुरुषगरी नौजना माओवादीसँग उनको भेट भएको थियो। लमजुङका देवेन्द्र पौडेल नामका माओवादीको नेतृत्वमा उनीहरू मुक्तिनाथको हत्या गरेर त्यो बाटो लागेका थिए। उनकै नाममा किटानी जाहेरीसमेत दिइएको थियो। तर, यो घटनामा दोषीलाई कारबाही गर्नेतिर कुनै प्रगति भएन।
हत्यापछि उनीमाथि 'जासुसी' को आरोप लगाइयो। तर, उनले के जासुसी गरेका थिए, माओवादीले आजसम्म भन्न सकेको छैन। बरु माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले टेलिभिजन अन्तर्वार्ताका क्रममा 'मुक्तिसरको हत्या गल्ती भएको' स्विकारेका छन्।
०००
मुक्तिनाथलाई 'क्रुसिफाई' गरिएको उत्तिसको रूख अहिले छैन। हत्याको केहीदिनमै गाउँलेले एउटा अलच्छिनको रूपमा त्यसको जरैसम्म ढालिदिएछन्।
शिक्षक बुद्धरामसँगै स्कुल गइरहेका जनसेवा प्रावि, हिलेका शिक्षक शिवराम खनियाले भने, 'यो बाटो हिँड्दा हामीलाई जहिले पनि त्यो निर्मम हत्याको झल्को आउँछ।'

हत्यालगत्तै हात पछाडि लगेर रूखमा बाँधेको, मफलरले घाँटी बेरेर रूखमा बाँधेको, एउटा घुँडा टेकिरहेको र अर्को खुट्टा कान्लामा झुन्डिएको मुक्तिनाथ अधिकारीको तस्बिर अखबारमा आयो। भुइँमा उनको टोपी झरिरहेको छ। त्यो तस्बिर सबैका मनमा गढ्यो। र, आजपर्यन्त छापिइरहेको छ।
त्यो तस्बिर खिच्ने व्यक्ति म हुँ भनेर अहिलेसम्म मैले भन्न सकेको छैन। तस्बिर खिचेपछिका तीन वर्ष म दसैंमा घर जान सकिनँ।
यस्तो तस्बिर अभिलेखका निम्ति पनि आवश्यक हुन्छ भनेर मैले खिचेको हुँ। घटनाको राति हामी सबै लास कुरेर त्यही बस्यौं। राति ११ बजेतिर ठुल्ठुला मुढा बालेर उज्यालो पारी हामी त्यहाँबाट हिँड्यौं। तैपनि राति पटकपटक आएर हेर्‍यौं। लासलाई कसैले नचलाओस् भन्नेमा हामी थियौं।
भोलिपल्ट बिहान फोटो खिच्न मैले स्थानीय फोटोग्राफरलाई अनुरोध गरेँ। उनी डरले त्यहाँ जान सकेनन्। म आफैं उनको क्यामरा लिएर गएँ र विभिन्न एंगलमा केही तस्बिर खिचेँ। बिहानको घाम लागिसकेको थियो। एउटा तस्बिरमा घामका कलिला किरणको प्रतिविम्बसमेत देखिन्छ। 
फोटो खिचिसकेपछि क्यामरा उनै फोटोग्राफरलाई फर्काएँ। उनैले ती तस्बिर धुलाएर मलाई दिए। पछि हिमाल खबरपत्रिकाका संवाददाता गाउँमा आएपछि उनले त्यसलाई लगेर छापे।

Source: NagarikNews.com
Last edited: 27-Nov-10 12:52 AM

 
Posted on 11-27-10 7:39 AM     [Snapshot: 152]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मुक्तिनाथ र उनी जस्ता आरु धेरै निर्दोश ले ज्यान गुमौनु परेको त्यो जनघाती युध्ह मुक्ती को नाममा जाती र भाषा को बिरुध्ह घ्रिणा  जन्मायेर सुरु भएको थ्यो, तिनी हरु लाई तेत्रो गौरब भये हामीले मरेको हो भनेर हत्यारा  हरु अगाडि आउन पर्ने थ्यो। तेस्ता हत्यारा हरु आहिले कती जना ब्यबसैएक अपराधी बनेर सर्ब साधारणमा आतंक माछाइ रहेक छन। त्यो बाबुराम ले गल्ती भो भनेर पुग्दैन, सजये बेहोर्न नपर्ने  गल्ती भो भने पुग्ने भये भोली देखी धेरै मान्छे को हत्या सुरु हुन सक्छ.

निर्दोश को पाशबिक हत्या गरेर जातिये राज्य स्थापना को सपना बेच्ने र तेस्ता बकम्फुसे सपना को पछी लाग्ने तोरीलौरे हरु भये सम्म नेपाल  को भबिस्य छैन। तर तेस्ता ब्यक्ती हरु अर्को चुनाव मा बधरिएर जान्छन भन्ने विश्वाश छ।



 
Posted on 11-27-10 10:00 AM     [Snapshot: 281]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chor, goonda maowadiharu. chor goonda bhanda pani yiniharuko ijjat hunchha, yiniharu ta jhan talaka cold blooded khunkhar hatyaraharu.
 
Posted on 11-27-10 12:14 PM     [Snapshot: 404]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरेक नराम्रो शक्ति को अन्त नराम्ररी नै हुन्छ | कुनै ढिलो कुनै चाडो | माओबादीपनि तेस्तै यौटा शक्ति हो | जसको अन्त अति नराम्ररी हुन्छ | उसको बन्दुकको नाल बाट जनताको शान्त छन् | जब यो शान्त ज्वालामुखी बिस्फोट हुन्छ, त्यो बेला तेस्तै रुख रुख मा माओबादीहरु झुन्डिएका हुनेछन | अनि मुक्ति सर जस्तै हजारौ आत्मा ले मुक्ति पाउनेछन | जब यिनीहरु प्रचण्ड, बाबुराम, किरणहरु त्यहाँ झुण्डी रहेका हुन्छन, जनताले यो बाबुराम ले जस्तै भन्ने छैन कि ' यी दानवहरुको हत्या गल्ती भएको' बरु खुशी ले भन्ने छन् 'बल्ल सहि फैसला भएछ' | 
 
Posted on 11-27-10 12:58 PM     [Snapshot: 472]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sathi,yesto photo ta upload nagarnush,,j hune bhaisakyo..garne gari sake aparadhi haru le
aankha bata aasu ko dhara matra bagyo

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters